Ramananda Research Centre

Coordinated by Mahesh Sanyas Ashram

Mahesh Sanyas Ashram

Mahesh Sanyas Ashram

ashram

    देवघाटधाम नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक ऐतिहासिक एवं पर्यटकीय महत्त्वले परिपूर्ण भएको पवित्र तीर्थस्थल हो । आदिप्रयाग, हरिहरक्षेत्र र चक्रतीर्थको रूपमा परिचित यस पुण्यभूमिमा मुक्तिनाथबाट प्रवाहित शालग्रामवाहिनी कृष्णा गण्डकी र गोसाईकुण्डबाट  प्रवाहित त्रिशूली नदीको पावन सङ्गम रहेको यस तीर्थमा  पर्व-पर्वमा देवताहरू पनि स्नान गर्न आउँछन् भन्ने मान्यता रहेको छ । 
    यसै पुण्यभूमिमा वैदिक सनानतन धर्म र आर्य संस्कृतिको संरक्षण, संवर्धन एवं संस्कृत विद्याको प्रचार–प्रसार गर्ने मूल उद्देश्यका साथ परमगुरु अनन्त श्रीविभूषित स्वामी महेशानन्द गिरिजी  महाराजको शुभाशीर्वाद एवं श्रोत्रिय ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती (खप्तड बाबा) को सत्प्रेरणाबाट अभिप्रेरित भई परमश्रद्धेय श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको शिवसंकल्प अनुसार एक विशुद्ध धार्मिक तथा सामाजिक संस्थाको रूपमा महेश संन्यास आश्रमको स्थापना भएको हो । वि. सं. २०५० सालमा संघ-संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय तनहूँमा दर्ता भएको यस आश्रमको संञ्चालनका लागि विधान अनुसार संस्थापक स्वामीज्यूको अध्यक्षता तथा समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठित महानुभावहरूको सहभागितामा महेश संन्यास आश्रम संचालक समितिको गठन गरी प्रचलित संस्था सञ्चालन नियमावली अनुसार आश्रम सञ्चालन हुँदै आएकोमा संस्थापक स्वामीज्यूको ब्रह्मसायुज्यपश्चात् वहाँकै कृपाप्राप्त शिष्य श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजको अध्यक्षतामा संस्थाका सम्पूर्ण गतिविधिहरू सञ्चालित छन् ।